शंकर प्रसाद पोख्रेल, बुटवल ।
रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय टिमले बुटवलमा सडक सांस्कृतिक कार्यक्रम गरेको छ । पाँचदिने प्रशिक्षणको समापनपछि आज (शुक्रबार) बुटवलमा सडक सांस्कृतिक अभियान सञ्चालन गरेको हो ।
‘ढल्दैन आस्था हाम्रो, शिशिर चिर्ने, चाहे चुँडियोस् शिर हाम्रो, रातो लालटिन’ लगायतका गीतमा जोशिलो नृत्यसहित रक्तिमका कलाकारहरुले आफ्नो कला बुटवलका दर्शकसामु पस्केका थिए । दर्शकहरुले पनि रक्तिमका गीत तथा नृत्यलाई चासोपूर्वक हेरेका थिए ।
रक्तिमका कलाकारहरुले बुटवलका मुख्य चोक पुरानो बसपार्क ,बिपी चोक, ट्राफिक चोक लगायतका ठाउँहरुमा आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरि प्रसाद बुढा, उपाध्यक्ष हेमराज आश्रम, महासचिव जीवन शाही, कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, रक्तिमका कलाकारहरु मोहराज शर्मा, जीवन पुन, मेस्मा पुन, उषा तरामी मगर, सीता बस्याललगायतको उपस्थिति थियो ।
रक्तिम सांस्कृतिक अभियानको प्रशिक्षणको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असोज ११ गते गर्नुभएको थियो । सो कार्यक्रमको आजै समापन गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा देशभरका साठी जना प्रशिक्षार्थी कलाकारलाई सात जना प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।
रक्तिममा अधिकांश नयाँ अनुहारहरु आएकोले यो प्रशिक्षण कार्यक्रमले केही नयाँ अनुहारका रक्तिम कलाकार जन्माउने अपेक्षा आयोजकले गरेको अध्यक्ष गिरि प्रसाद बुढाले युगदर्शनलाई बताउनुभयो ।


