काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसक्नु भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।
मन्त्रिपरिषदलेएसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उहाँले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयो ।
सभामुखको आशनमा रहनुभएका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गर्नुभए पनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्टममै उभिएर जारी राख्नुभयो ।
बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राख्नुभएको थियो ।
सो प्रस्तावमा धारणा राख्न रोष्टममा पुग्नुभएका सांसद रावलले एसपिपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गर्नुभएको हो । उहाँले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताउनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गर्नुभयो । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गर्नुभएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।
राष्ट्रिय सभामा प्रश्नः एसपीपीबारे अमेरिकालाई किन पत्र पठाइएन ?
यता, राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले अमेरिकी प्रोग्राम एसपीपी पत्र किन नपठाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले सरकारले स्टेट पार्टनरसिप प्रोग्राममा भाग नलिने निर्णय गरेपनि अमेरिकालाई पत्र अहिलेसम्म नपठाएको भन्दै प्रश्न गर्नुभयो ।
सांसद राईले ढल्न लागेको सरकार त्यो पनि भूकम्पले आक्रान्त भएको बेला सहयोग हुने आशाले गरिएको सहमति छलफल बिना राजनीतिक नेतृत्व बेखबर बनाएर सहमति हुनु डरलाग्दो कुरा भएको बताउनुभयो ।