महेन्द्रनगर । नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गतको मूल नहरमा पानी पठाइएको छ ।
आज (असार १५ गते) धान दिवसका अवसर पारेर महाकालीको पानी मूल नहरमा पठाएर सिंचाई सुरु गरिएको हो । मूल नहरको परीक्षण सोमबार गरिएको थियो ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यक्रम अन्तर्गत भारतले निर्माण गरेको टनकपुर ब्यारेजदेखि नेपालतर्फको १२ सय मिटर नहर सम्पन्न भएपछि पानी परीक्षण गरिएको थियो ।
आयोजना निर्देशक रणबहादुर बमका अनुसार असार १५ गते धान दिवसका अवसरमा नहर पानी सञ्चालन गरी केही स्थानमा रोपाइँ गरिएको छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका अनुसार १८.५ किलोमिटर ब्रम्हदेवदेखि बगुन खोलासम्म मूल नहरको निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०६३र०६४ सालदेखि निर्माण सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गतको मूल नहरमा डेढ दशक पछि पानी सञ्चालन गरिएको हो ।
भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फ २५ किलोमिटर मूल नहरमा पानी सञ्चालन हुने आयोजना कार्यालयले जनाएको छ ।
महाकाली सन्धि भएको २६ वर्ष बितिसक्दा पनि नेपालले महाकालीको पानी उपभोग गर्न पाएको थिएन । नहर निर्माणमा ढिलाई हुँदा टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी २६ वर्ष बितिसक्दा पनि पाउन नसकेको हो।
२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो। सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८।५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ।
यो पानी उपयोग गर्नका लागि नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नु पर्छ। तर नहर निर्माण कार्य सुस्त गतिमा हुँदा सन्धि अनुसार पाउनु पर्ने पानी नेपालले पाउन सकेको छैन।





