वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैङ्कबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैङ्कर्स एसोसिएसन अफ नेपालद्वारा २०७९ असार ४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैङ्कर्सलाई पाकेटमारा जस्तो व्यवहार नगर्न आग्रह गर्नुभयो ।
‘सेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनासको हुँदैन’ उहाँले भन्नुभयो– ‘सेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, सेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।’
कर्णालीमा पुँजीबजार लगानीकर्ताको सङ्ख्या निकै कम रहेको भन्दै उहाँले विकासको गति, पुँजीबजार सचेतना, बैङकिङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पुँजीबजार अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा भएको धारणा राख्नुभयो ।
त्यस्तै नेपाल उद्योग परिसङ्का प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै सेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार सङ्घका अध्यक्ष मोदनाथ ढकालले सचेतना कार्यक्रमले कर्णाली प्रदेशमा पुँजीबजारका लगानीकर्ता बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।