काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी। अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’।
वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ–सामाजिक आयामलाई समेटेर लेखिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ।
किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकको सम्पादन लेखक तथा पत्रकार यज्ञशले गरेका छन्। पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ।
विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरुका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसँग कुराकानीसमेत गरेर तयारी पारिएका मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातवटा लेखहरु पुस्तकमा छन्।
‘देशको अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको अनुपातमा एक चौथाई योगदान भएको, मानव विकास सूचकांकलगायतका सामाजिक–आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे चर्चा हुनुपर्नेजस्तो लाग्छ,’ पुस्तकबारे सम्पादक यज्ञशले भने, ‘यो पुस्तकमा यसबारे केही तथ्यपरक विश्लेषणको प्रयास गरिएको छ।’

