काठमाडौं । काठमाडौंमा राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रतिपोगिताको अर्थ सचिव मधुकर मरासिनी र वरिष्ठ लोक गायक कुमार बस्नेतले बुधबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ लोक गायक कुमार बस्नेतले आफूहरुको पालामा लोक गीत गाउनेलाई गाउँलेको रुपमा हेर्ने गरेको स्मरण गर्नुभयो ।
लोक दोहोरी प्रतिष्ठानको पूर्वअध्यक्ष तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानले अहिलेका कतिपय चर्चित लोक दोहोरी गायक गायिकाहरु बिगतमा यस्तै प्रतियोगिताबाट यो क्षेत्रमा आएको स्मरण सुनाउनुभयो ।
संगीत क्षेत्रमा सरकार उदासिन भएको टिप्पणी गर्दै उहाँले भननुभयो, ‘हाम्रा श्रष्टाको निधन हुँदा कमलादीको प्रज्ञा प्रतिष्ठानमा श्रष्टाको शव राखेर श्रद्धाञ्जलन प्रकट गर्न पनि रोक लगाइयो। हामीले टोखामा प्रतिष्ठानको कार्यालय जेनतेन बनाएको भए पनि अब दिवँगत श्रष्टालाई श्रद्धाञ्जली दिनको लागि समेत केही जग्गा जोहो गर्न आर्थिक जोगाड गर्नु पर्ने भएको छ ।’
बुधबारबाट ४ दिनसम्म जारी रहने यो प्रतियोगितामा राजधानी र मोफसबाट ६१ वटा टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिनुभयो ।
दर्शकका लागि प्रवेश निशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बिजीले कार्यक्रममा जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुशासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो कार्यक्रममा दोहोरीसँगै खानाहरु विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरी सुन्न सक्ने छन् । प्रतियोगिताको समापन शनिबार हुनेछ ।

