काठमाडौं । बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै त्यस क्षेत्रका बासिन्दाहरुले राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बिहीबार पनि मुआब्जा कम भएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेको बताए । उनले आफुहरुको सहमति बिना मूल्य निर्धारण गरिएकाले आफुहरुलाई मान्य नहुने बताए ।
उनीहरुले तत्काल आफुहरुसँग वार्तागरी पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सरकारले यही मंसिर १६ गते सार्वजनिक गरेको जग्गाको मुआब्जा निर्धारणप्रति स्थानीयवासीले चर्को असन्तुष्टि जनाएका छन् ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ । सरकारको निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्तिमार्फत सो क्षेत्रको आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यावहारिक र वैज्ञानिक ढंगले नगर्दा स्थानीयवासीमा त्यसले आक्रोश उत्पन्न गरेको उल्लेख गरेका छन् ।

