पोखरा । पेट्रोलियम व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
इन्धन आपूर्ति र दुवानी गर्ने व्यवसायीहरुको संगठन राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एसोसियन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
व्यवसायीले एलपी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्याधिक बृद्धि भए पनि हालसम्म भाडा समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेका छन् ।
भाडा दर समायोजन गर्न र डिजेलको मूल्य बृद्धि हुँदा भाडा बढ्ने घट्दा स्वतः घट्ने स्वचालित ढुवानी भाडा व्यवस्था कायम गर्न, पेट्रोलियम ऐन बनाई लागू गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली संशोधन गर्नुपर्ने र त्यसमा व्यवसायीको प्रतिनिधि राखिनुपर्ने पनि उनीहरुको माग छ ।
गण्डकी प्रदेशमा पेट्रोलियम डिलर्स एसोसियशन गण्डकी धौलागिरीका अध्यक्ष राजन गोगंजुको संयोजकत्वमा संघर्ष समिति गठन गरी उनीहरुले आन्दोलन सुरु गरेका हुन् । संघर्ष समितिका संयोजक गोगंजुका अनुसार व्यवसायीले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
संघर्ष समितिले चैत्र १५ गतेसम्म स्थानीय स्तरमा तीनवटै क्षेत्रका प्रतिनिधि सम्मिलित स्थानीय आन्दोलन समिति गठन गर्ने, उपभोक्ता, र सरोकारवाला एवम् सञ्चार माध्यममा अन्तरक्रिया गर्ने, एलपी ग्यास लोड भएका गाडीहरु भन्सार छुटाउने कार्य बन्द गर्ने कार्यक्रम तय गरेका छन् ।
यस्तै, १७ गतेदेखि एलपी ग्यास उद्योगबाट बिक्रेतालाई ग्यास विक्री नगर्ने र चैत १८ देखि पेट्रोलियम पदार्थको लोड अनलोड बन्द गर्ने र २० गतेदेखि देशभर ग्यास बिक्री बन्द गर्ने गरी संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।