मुम्वई (भारत) । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुसालले भारतीय पत्रकारसँग लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भूभाग रहेको प्रमाण पेश गर्नुभएको छ ।
भारतको आर्थिक राजधानी मुम्बईमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट अतिक्रमित भूभागबारे ‘ब्रिफिङ’ गर्दै त्यसबारे सत्य तथ्य समाचार सम्प्रेसण गरिदिन आग्रह गर्नुभएको थियो ।
ढिलो गरी प्राप्त समाचार अनुसार क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तराष्ट्रिय कोअर्डिनेशन (आइकोर)को सेमिनारको शिलशिलामा भारतका पत्रकारहरुसँग कुरा गर्दै भुसालले नेपालको लिपुलेक कालापानी र लिम्पियाधुरालाई भारतीय साम्राज्यवादले हडप्ने गरी गरेको हस्तक्षेपबारे स्पष्ट पार्नुभएको हो ।
महासचिव भुसालले त्यस क्रममा नेपाली जनताको न्यायपुर्ण आन्दोलन प्रति सहयोग (सोलिडाइरिटी) प्रकट गर्न सबै भारतीय न्यायपुर्ण जनता एवं मिडियाहरुसँग आग्रह गर्नुभयो ।
मुम्वईस्थित मुम्वई सेन्टर, जहाँ भारतीय स्वतन्त्रताको लागि सहादत प्राप्त गर्ने वीर सहिदहरुको नाममा स्मारक निर्माण गरिएको छ, सो ठाउँमा भएको कार्यक्रममा ट्रेड युनियन सेन्टर अफ इण्डिया (टीयूसीआई) का महासचिव सन्जय सिंघबीले भुसालले राख्नुभएको प्रस्तावप्रति ऐक्यवद्धता जनाउनुभएको थियो ।
