प्रज्वल पहाडी, प्यूठान । प्यूठानमा भएको उपनिर्वाचनमा ६१ दशमलव ४७ प्रतिशत मत खसेको छ । रिक्त तीन वडा अध्यक्ष पदका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सकिएको हो । तीन वटा वडामा कुल ८ हजार ३ सय ४६ मतदाता मध्ये ५ हजार १ सय ३४ मतदाताले मतदान गरेका हुन् ।
प्यूठान नगरपालिका २ दाखाक्वाडीमा कुल मतदाताको ६६ दशमलव ०३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिए । ३ हजार २१ मतदातामध्ये १ हजार ९ सय ९५ मतदान गरेका हुन् ।
त्यसैगरी ऐरावती गाउँपालिका १ दाङ्गवाङ्गमा ५४ दशमलव ८५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् । २ हजार ५ सय ४५ मतदाता रहेकोमा १ हजार ३ सय ९६ जनाले मतदान गरेका हुन् । वडा नम्वर २ बरौलामा ६२ दशमलव ५८ प्रतिशत मत खसेको छ । २ हजार ७ सय ८० मतदाता मध्ये १ हजार ७ सय ४० मत खसेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारि दिए ।
विहान सात बजेदेखि शुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । प्रत्येक वडामा चार वटा मतदान केन्द्र रहेका थिए । निर्वाचनका लागि ६० जना राष्ट्रसेवक कर्मचारी खटिएका थिए ।
प्यूठान नगरपालिका २ दाखाक्वाडीमा नेकपा र नेपाली काग्रेस, ऐरावती १ दाङ्गवाङ्गमा नेकपा र नेपाली काग्रेस वडा नम्वर २ बरौलामा राष्ट्रिय जनमोर्चा, नेपाली काग्रेस र एक जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा होमीएका छन् । ३ वडा अध्यक्ष पदमा ७ जना चुनावी मैदानमा होमीएका हुन् ।
ऐरावती २ बरौलामा वडा अध्यक्ष का स्वतन्त्र उम्मेदवारीलाई नेकपाले साथ दिएको छ । राष्ट्रिय जनमोर्चा सहितको समझदारी अनुसार नेकपा केन्द्रले निर्णय कार्यान्वयनका लागि सूर्य चिन्ह नदिए पछि नेकपा प्यूठानले स्वतन्त्र उम्मेदवारलाई साथमा लिएर निर्वाचनमा होमिएको हो ।

