काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५४० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार वितेको २४ घण्टामा एन्टिजेन र आरटी पीसीआर दुवै गरेर १३ हजार १४५ परीक्षण गरिएको थियो। जसबाट ३५ सय ४० संक्रमित थपिएका हुन्।
उहाँका अनुसार आरटी पीसीआर विधिबाट ९ हजार ९१० परीक्षण गरिएको हो। त्यस्तै ३०४९ एन्टिजेन परीक्षण भएको थियो। जसमा ३ हजार २३५ पीसीआरबाट र एन्टिजेननबाट ४९१ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर ६ हजार ३५९ डिस्चार्ज भएका छन्। तर यही अवधिमा ३२ जनाले ज्यान गुमाएको पनि मिश्रले जानकारी दिएकी छन्।
मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट ढिलो गरी १२ जनाको मृत्युको रिपोर्ट प्राप्त भएको हो। बाँकी मृत्यु माघ १३ देखि १६ गतेसम्मका रहेका मिश्रले बताउनुभयो । नेपालमा सक्रिय संक्रमित संख्या ८३ हजार ९९९ रहेको छ।
घट्यो संक्रमणदर
नेपालमा एक हप्तामै ४ प्रतिशतले घट्यो कोरोना संक्रमणदर
नेपालमा कोरोनाभाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले घटेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको छोटो समयमै संक्रमणदर घट्न थालेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अघिल्लो हप्ता १ लाख १६ हजार ६१३ पीसीआरमा परीक्षण भएको थियो। जसमध्ये ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। तर यो साता १ लाख १ हजार ३ सय ११ पीसीआर परीक्षण हुँदा ४२ हजार ५९६ जनामा मात्रै संक्रमण देखिएको हो।