काठमाडौं । जनवादी गायक हेमराज आश्रमलाई ‘सार्थक संगीत युवा सम्मान’ द्वारा सम्मानित गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ प्रगतिशील गायक तथा सर्जक रामेश र रायनले उहाँलाई सो सम्मान प्रदान गर्नुभएको हो ।
सम्मान राशी १५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । सम्मान पाएपछि आफूलाई जनसंगीतको क्षेत्रमा अझै धेरै समर्पण गर्न प्रोत्साहन मिलेको आश्रमले युगदर्शनसँग बताउनुभएको छ ।
सार्थक जनसंगीत प्रतिष्ठान नेपालले पारिजात स्मृति केन्द्र म्हेपीमा आयोजना गरेको सो कार्यक्रममा रमेश अर्याललाई सार्थक संगीत सम्मान प्रदान गरिएको थियो । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
सम्मानित व्यक्तित्व आश्रमले सम्मान गर्ने संस्थाप्रति आभार प्रकट गर्नुभयो । उहाँले आफूलाई सम्मान गर्न योग्य बनाउने आफ्ना बाबा आमासहित अग्रज तथा पार्टी संगठनप्रति पनि कृतज्ञता प्रकट गर्नुभयो । आश्रम रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हुनुहुन्छ ।
सो अवसरमा उहाँले उक्त पुरस्कार राशी बाबा आमा र आफूलाई अक्षरारम्भ गराउने स्कुल बाग्लुङको काठेखोला ४ तंग्रामस्थीत श्री धारा मावि र कक्षा नौ देखि एसएलसीसम्म अध्ययन गरेको नारायणी माविलाई प्रदान गर्ने घोषणा गर्नुभयो ।

सार्थक जनसंगीत प्रतिष्ठान नौ वर्षअघि वरिष्ठ प्रगतिशील गायकद्वय रामेश र रायनको अगुवाईमा स्थापना भएको हो । सो संस्थाले प्रगतिशील गीत संगीतको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने गर्दछ ।
रामेश र रायनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता श्याम तमोट र सञ्चालन उदय श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा हेमराज आश्रमले मोहनविक्रम सिंह रचित ‘तिमी भन्छौ म भागिरहेछु’ बोलको गजल गाउनुभएको थियो भने रमेश अर्याल, माधव प्रधान र पुरुषोत्तमले पनि विभिन्न प्रगतिशील गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गीति एलवम लोकार्पण गर्नुका साथै म्युजिक भिडिओ प्रदर्शन र सार्थक गीति प्रस्तुती गरिएको थियो ।