रेम राना
गत २०७८ कार्तिक २५ गतेका दिन भएको का. लक्ष्मी गुरुङको असामयिक निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । हामीले पार्टी र संगठनप्रति प्रतिवद्ध, अनुशासित, उत्कृष्ट स्वरकी धनी, सबै कलाकारहरुको अविभावक एक होनहार प्रतिभालाई संधैका लागि गुमाएका छौं । उहाँको निधनले रक्तिम सांस्कृतिक अभियानकासाथै नेपालको सिंगो जनवादी सांस्कृतिक आन्दोलनकमा अपुरणीय क्षति पुग्न गएको छ ।
यस दुखद घडिमा रक्तिम सांस्कृतिक अभियानलाई विगत तीन दशकदेखि अनवरतरुपमा पुराउनुभएको योगदानको उच्च सम्मान र मूल्यांकन गर्दै भावपूर्ण श्रद्धान्जली दिँदै शोकसन्तप्त परिवारजनहरुमा समवेदना प्रकट गर्न चाहन्छौं । यसकासाथै विगतमा रक्तिम सांस्कृतिक अभियानमा आवद्ध रहि हाम्रो अभियानलाई योगदान पुराउनु भएका दिवंगत अन्य कलाकार साथीहरु दलबहादुर भण्डारी, कमला सिंजाली, भक्त थापा, ध्रुव ज्ञवाली, धनकाजी गुरुङ आदि कलाकारहरुलाई पनि यस घडिमा सम्झन चाहन्छौं ।
जन्म : सबै कलाकारहरुको दिदी, आदरणीय लक्ष्मी गुरुङ (दुर्गा) को जन्म २०२३ साल कार्तिक २५ गतेका दिन बुवा कृष्णबहादुर गुरुङ र आमा गर्भी गुरुङको कोखबाट कास्की जिल्लाको भदौरे भन्ने गाउँमा भएको थियो । संयोगको कुरा भनौ उहाँको मृत्यु पनि ५५ वर्षको उमेरमा यही २०७८ साल कार्तिक २५ गते नै हुन गएको छ । उहाँको एक छोरा रविन गुरुङ र बुहारी पुजा गुरुङ हुनुहुन्छ । उहाँहरु जागिरको सिलसिलामा बेलायत बस्ने भएता पनि अहिले यस कार्यक्रममा उहाँहरु लगायत अन्य परिवारजनहरु उपस्थित हुनुभएकोले हाम्रो कार्यक्रमले पूर्णता पाएको महसुस गरिरहेका छौं ।
स्वभाव : वहाँको स्वभाव अत्यन्तै सरल, मिलनसार, अग्रजहरुको आदर र नयाँ प्रतिभाहरुलाई संरक्षण गर्ने खालको थियो । सबै साथीहरुप्रति हार्दिकता, शिष्टता, अनुशासित, जस्तै कठिन परिस्थितिमा पनि बिचलित नहुने धैर्यता, ब्यवहारिकता र अभिभावकत्व प्रदान गर्ने क्षमता वहाँको स्वभावका विशिष्ट गुणहरु थिए । कमजोर स्वास्थ्य अवस्थाका बाबजूद उहाँको स्वरमा मौलिक प्रकारको मिठास र अत्यन्त माझिएको उत्कृष्ट कर्णप्रीय स्वर थियो । जनवादी सँगीतको क्षेत्रमा मात्र नभएर वुर्जुवा फाँटमा समेत उहाँको स्वरले ख्याति र प्रशंसा पाएको थियो ।
संगठनमा आबद्धता : लक्ष्मी गुरुङ भैरहवाको वेलहीयामा आफ्नो दाजुभाउजुहरुसित बस्दै आउनु भएको थियो । पहिले वहाँ स्थानीय खुकुरी क्लवमा आवद्ध भई गायन क्षेत्रमा अघि बढ्नु भएको हो । २०४७ सालतिर धनकाजी गुरुङको सम्पर्कबाट रक्तिम अभियानसित जोडिनु भएको थियो । २०५४ सालमा सम्पन्न रक्तिम सांस्कृतिक अभियानको प्रथम राष्ट्रिय सम्मेलनले उहाँलाई केन्द्रीय समितिको सल्लाहकारमा चुनेको थियो । त्यस सम्मेलनमा विभिन्न जिल्लाका सांस्कृतिक टोलीहरुको बीचमा सांस्कृतिक प्रतिष्पर्धा भएको थियो त्यसमा उहाँले रुपन्देहीको टोलीको नेतृत्व गरेर जानु भएको थियो । त्यस टोलीमा उहाँको छोरा रविन गुरुङले पनि बाल कलाकारको रुपमा भाग लिनु भएको थियो ।
२०६३ भदौ १३–१४ गते बुटवलमा सम्पन्न रक्तिम अभियानको राष्ट्रिय भेलाबाट उहाँ केन्द्रीय सदस्य चुनिनु भएको थियो भने २०६७ वैशाख ९–१५ गतेसम्म बुटवलमा सम्पन्न राष्ट्रिय प्रशिक्षण भेलाले केन्द्रीय सल्लाहकार बनाएको थियो । त्यसैगरी २०७५ चैत्र २५–२६ मा सम्पन्न राष्ट्रिय भेलाले पनि केन्द्रीय सल्लाहकारमा चुनेको थियो । त्यसकासाथै रुपन्देही जिल्लाको रक्तिमलाई पनि उहाँले नेतृत्व गरिरहनु भएको थियो ।
सांस्कृतिक यात्रा : नेपालमा विशेष गरेर २०६२०६३ को महान जन आन्दोलनको सफलतापछि नै व्यापकरुपमा सांस्कृतिक जागरणको अभियान शुरु भएको हो । त्यस सिलसिलामा हामी दाङको भालुवाङबाट पैदल हिंडेर प्युठान पुगेका थियौं । प्युठान जिल्लाको गाउँ–वस्तीहरुमा चलेको एक महिने सांस्कृतिक यात्राको क्रममा उहाँलाई कति ठाउँमा बोकेर र कतिपय ठाउँमा घोडामा सवार बनाएर कार्यक्रम स्थलसम्म पुराएको सम्झना ताजै छ । बागलुङको एउटा कार्यक्रममा स्थानीय कांग्रेसीहरुले आक्रमण गर्दा उहाँलाई सुरक्षा दिन हम्मेहम्मे परेको थियो ।
बिभिन्न समयमा देशब्यापी चलेको सांस्कृतिक अभियानको दौरानमा का. लक्ष्मीजी कास्की, स्याङजा, तनहुँ, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, दाङ, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर, उदयपुर, सिराहा, सप्तरी आदि जिल्लाहरुमा सहभागी हुनुभएको थियो भने भारतमा दिल्ली, हरियाणा, पञ्जाब र हिमाञ्चल आदि जिल्लाहरुमा चलेको जिल्ला, क्षेत्र र केन्द्रियस्तरका कार्यक्रमहरुमा सामेल हुनुभएको थियो । त्यसबाहेक रुपन्देही, कपिलवस्तु, काठमाण्डौ लगायत ठाउँहरुमा आयोजना हुने सयौं स्थानीय कार्यक्रमहरुमा सहभागी हुनुहुन्थ्यो ।
गीत संगीतको पक्ष : उहाँले रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समितिले प्रकाशित गरेको भाग १२ सम्मको गीति एल्बमका साथै अन्य कैयौं अतिरिक्त एल्बमहरुमा पनि आफ्नो उत्कृष्ट स्वर दिनुभएको छ । रक्तिम गीति एल्बम भाग–४ मा फेरिपनि हुकुमी शासन चल्दैछ, सुनबुट्टे रेशमी सारी, यो मेरो जीवन बरबादै भयो, चौपारीमा बसेर, एक नयाँ दिशामा एक नयाँ आशामा, उठ उठ भोका बन्दी; भाग–५ मा कम्मरमा खुकुरी भिरी, पूर्व बग्ने सुनकोसी, रमाइलो बसन्तको गीत, नेपाली माटो फुलेको फुल, भाग–७ मा जनवादी संगीत, उर्लियो भेल, जाग किसान मजदुर हो, फर्किदेउ लाहुरे, मेची कालीको आह्वान; भाग–१० मा तुवाँलोले आकाशै ढाक्यो, झरझर झर्ने झरनाले, उत्तरबाट बादल आउँदा; भाग–११ मा आँधीखोला, भाग–१२ मा छेकेर छेकिन्न, सम्पूर्ण मुक्तियोद्धाका साथै रुपन्देही जिल्लाले निकालेको वर्गयुद्ध भन्ने एल्बममा वर्गयुद्धको आँधी हो यो, सानो झोला काँधैमा, जुनजोगी आएनी कानै चिरेको, भोकै छौं हामी, किन फुल्छ मखमली फुल, आउलान हजार बाधाहरु, माक्र्सवाद जिन्दावाद, त्यस्तै थारु भाषाको गाउँ हमार एल्बममा गाउँ हमार हो गली हमार हो, कुर्सी तेडनेवाले तु ने क्या बनाया, डाडु हो बहिनी हो, सखियै हो, मितवारे भईया जस्ता सयौं गीतहरुमा आफ्नो स्वर दिनुभएको छ ।
यस मध्ये मेची काली हामै्र हो भन्ने गीतको रचना का. भैरव रेग्मीले गर्नु भएको थियो भने संगीत लक्ष्मीजीले दिनुभएको थियो । उहाँले गाएको गीत मध्ये मणी थापाको रचना र जीवन शर्माको संगीत रहेको ‘यो मेरो जीवन बरबादै भयो’ भन्ने र ‘उत्तरबाट बादल आउँदा’ भन्ने गीत देश–विदेशमा अत्यन्त रुचाइएको र लोकप्रीय भएका गीत हुन् ।
विचार पक्ष : कुनै पनि कलाकारको लागि कलात्मक क्षमता मात्र हुनु ठूलो कुरा होइन । वर्गीय समाजमा कुनैपनि कला वा साहित्य निस्चित विचार, सिद्धान्त र अनुशासनद्वारा निर्देशित भएको हुन्छ । त्यस्तो समाजमा कला कस्को लागि भन्ने प्रश्नले प्रमुख महत्व राख्दछ । का. लक्ष्मी गुरुङ स्पष्टरुपमा सर्वहारा वर्गीय दृष्टिकोण र अनुशासनद्वारा निर्देशित कलाकार हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नै संगठनभित्र बेलामौकामा देखापर्ने वैचारिक विचलन र भडकावका विरुद्ध सशक्त रुपमा उभिनु भएको थियो । २०५३ सालमा आफ्नै संगठनको शिर्षस्थ नेतृत्वबाट भएको कलाकारहरु पार्टी नीति र सिद्धान्तबाट स्वतन्त्र हुनुपर्छ भन्ने वैचारिक स्खलन र संगठन विरोधी गतिविधिका विरुद्ध संघर्ष गर्दै कलाकार पंक्तिलाई बचाउने काममा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । तात्कालिन नेतृत्वले उहाँप्रति गरेको उपेक्षा र तिरस्कार प्रबृत्तिको प्रतिबाद गर्नुभएको थियो । रक्तिम अभियानको यसप्रकारको वैचारिक संघर्षको बिचबाट २०५४ फागुन १–३ गतेसम्म काठमाडौंमा सम्पन्न रक्तिमको प्रथम ऐतिहासिक सम्मेलनमा पनि उहाँको महत्वपूर्ण भूमिका र योगदान रहेको थियो ।
पदक र सम्मान : जनवादी संगीतको क्षेत्रमा उहाँको अमुल्य योगदानको कदर गर्दै २०६७ साउन ३१ गते नेपाल सरकारको साँस्कृतिक सँस्थानद्वारा आयोजित हेमराज आश्रम एकल साँझको अवसरमा सांस्कृतिक संस्थान र नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्र बहादुर केसीद्वारा दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरिएको थियो । त्यस कार्यक्रममा उहाँले उत्तरबाट बादल आउँदा लगायत अन्य गीतहरु प्रस्तुत गर्नुभएको थियो र का. विमल पोखरेलले उहाँको जीवनी र सांगीतिक यात्रा बारे प्रकाश पार्नु भएको थियो ।
प्राकृतिक रुपमा उहाँमा शरीरिक अशक्तता भएपनि जस्तोसुकै कठिन परिस्थितिमा पनि हिम्मत नहारेर कष्ट र अभावको बिचमा पनि अदम्य साहसका साथ आप्mनो जीवनको रथलाई अधि बढाउँदै कुनै पद, प्रतिष्ठा र ब्यक्तिगत महत्वकांक्षाबाट माथि उठेर उहाँले जीवनभर रक्तिम सांस्कृतिक यात्राको अभियानलाई निरन्तर अघि बढाउनु भयो । प्रत्येक बर्षको भैलोमा रुपन्देहीका शहर र गाउँ–वस्ती उहाँको सुमधुर स्वरले गुन्जिन्थ्यो । उहाँको निजी कोठा प्रायशः हाम्रो संगठनको अफिस सरह थियो । आज हामी सबैलाई उहाँको अभाव खट्किरहेको छ । हामीले उहाँलाई सधैँ सम्झिरहने छौं र उहाँको पदचाप पछ्याइरहने छौं ।
अन्त्यमा, हामी उहाँले रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समिति र सिंगो जनवादी साँस्कृतिक आन्दोलनलाई तीन दशकसम्म पु¥याउनु भएको अमुल्य योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । त्यसकासाथै, उहाँले रचना, संगीत गरेका र उहाँको स्वर रहेका गीतहरुको अडियो, भिडियो निकाल्ने, रक्तिम अभियानको मुखपत्रको आगामी अंकलाई उहाँको नाममा समर्पित गर्ने, उहाँलाई सँधै सम्झिरहनका लागि ‘लक्ष्मी गुरुङ स्मृति प्रतिष्ठान’ स्थापना गर्ने र ‘लक्ष्मी गुरुङ अक्षय कोष’ स्थापना गरेर नयाँ प्रतिभाहरुको संरक्षण र सम्वर्धन गर्ने बाचासहित आदरनीय लक्ष्मी गुरुङलाई सम्पूर्ण कलाप्रेमीहरुको तर्फबाट रक्तिम सलामी टक्राउँदै बिदा हुन चाहन्छु । –धन्यवाद
(रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिद्वारा २०७८ मंसिर ११ गते बुटवलमा आयोजित ‘का. लक्ष्मी गुरुङ स्मृति तथा श्रद्धान्जली सांस्कृतिक कार्यक्रम’ मा अध्यक्ष रेम रानाद्वारा प्रस्तुत श्रद्धान्जली मन्तव्यको सम्पादित अंश ।)