काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार लक्ष्मी गुरुङको स्मृतिमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा २०७८ मङ्सिर ११ गते बुटवलको बेलबासमा सो कार्यक्रम हुन थालेको हो ।
रक्तिमका केन्द्रीय सचिव जनवादी गायक हेमराज पुनका अनुसार सो कार्यक्रमको प्रमुख अतिथि चित्रबहादुर केसी हुनुहुने छ ।
कार्यक्रममा जनवादी गायिका गुरुङका चुनिएका गीतहरूको प्रत्यक्ष प्रसारण गरिने छ ।
‘कार्यक्रम सम्पन्न गर्नका लागि हामी बुटवलमा देशभरिका कलाकारहरू अन्तिम तयारीमा जुटेका छौँ’ सचिव पुनले भन्नुभयो– ‘हामीले लक्ष्मी गुरुङका गीतलाई एकपटक फेरि प्रत्यक्ष प्रसारण गरेर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने छौँ ।’
गायिका गुरुङको गत कात्तिक २५ गते रुपन्देहीको भैरहवामा निधन भएको थियो ।
उहाँले “उत्तरबाट बादल आउँदा” लगायत रक्तिम सांस्कृतिक अभियानद्वारा प्रकशित थुप्रै गीतमा स्वर दिनुभएको थियो ।
कास्की जिल्लाको भदौरे भन्ने ठाउँमा वि.सं. २०२३ सालमा बुबा कृष्ण गुरुङ र आमा गर्भीबाट जन्मिनुभएकी गुरुङ सानैदेखि गीतसङ्गीतमा रुचि राख्नुहुन्थ्यो । उहाँ सानै छँदा परिवार रुपन्देहीको बेलैया भन्ने गाउँमा बसाइँ सरेको थियो ।
स्थानीय क्लबहरूले आयोजना गर्ने कार्यक्रममा गीत प्रस्तुत गर्दागर्दै उहाँ रक्तिमको सम्पर्कमा आउनुभयो र रक्तिम परिवारलाई थुप्रै गीतमा सुमधुर आवाज दिनुभयो । गुरुङले थुप्रै पुरस्कार तथा सम्मान पाउनुभएको छ ।
उहाँको परिवारमा एक छोरा र बुहारी हुनुहुन्छ ।

