काठमाडौं । विवादित अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध जनकलाकारहरुको खबरदारी गीत ‘खबरदार’ सार्वजनिक भएको छ ।
रक्तिम सांस्कृतिक अभियानका कलाकार हेमराज आश्रम र अखिल नेपाल जनकलाकार संघकी गायिका प्रगति महराको स्वरमा ‘खबरदार’ सार्वजनिक भएको हो । आश्रम युटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई हेमराज आश्रमले शब्द सिर्जना गर्नुभएको हो ।
गीतमा ‘खबरदार नेताहरु हो, खबरदार दलालहरु हो’ भन्दै एमसीसीको विरोध गरिएको छ । गीतमा भनिएको छ, ‘अमेरिका आउँदैछ एमसीसी लिएर, देश लुट्न आउँदैछ राइफल भिरेर, उधिन्न नपरोस् सिरुपाते खुकुरी, लखेट्न नपरोस् भाला तरवार बोकी’ भन्दै नेपालमा कुनै पनि हालतमा एमसीसी लागू गर्न नहुने चेतावनी दिइएको छ ।
अमेरिकी सहयोग नियोग भनिएको ‘एमसीसी’को चौतर्फी विरोध भइरहेका बेला ‘नो एमसीसी’ भन्दै गीतबाट समेत विरोध गरिएको हो ।
गीतकी गायिका महरा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराकी छोरी हुन् ।

