काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिड विरुद्ध कोभिसिल्ड चाँडै प्राप्त हुने बताउनुभएको छ । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो ।
उहाँले खोपलाई दुरूपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी गराउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा सरकारले लगानी वृद्धि र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभाको २०७८ साउन २८ गतेको बैठकमा सार्वजनिक महŒवका विषयमा आफ्नो वक्तव्यमाथि सांसदका प्रश्नका जवाफ दिने क्रममा उहाँले अबका दिनमा स्वयम्सेवक परिचालन गरी गाउँ र नगरस्तरीय खोप केन्द्र सञ्चालन गरिने जनाउनुभयो ।
कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलन सक्ने भएकाले परीक्षा स्थगन गरिएको बताउनुभयो । उहाँले अनलाइनबाट खुला परीक्षाजस्ता विकल्पमा उक्त परीक्षा सञ्चालन गर्न सकिने जनाउनुभयो ।
उहाँले धेरै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिएको र सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिने जानकारी दिनुभयो । कोरोना रोकथामका लागि सर्वपक्षीय र उच्चस्तरीय समिति गठनका विषयमा गम्भीर रूपमा सोचिएको उहाँको दाबी थियो ।
मन्त्री श्रेष्ठले कोभिडको तेस्रो लहरको खतरालाई ध्यान दिएर बालबालिकाकेन्द्रित अस्पताल र उपचार पद्धतिको उचित व्यवस्थापन गर्ने बताउनुभयो ।