काठमाडौं । मुसलधारे वर्षापछि आएको बाढी र डुबानका कारण चीनमा हजारौं नागरिक विस्थापित भएका छन् । मध्य चीनका कैयौँ स्थानहरूमा बाढी आएसँगै मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् भने रेल स्टेशन र सडक डुबानमा परेका छन् ।
ख्वनान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ । बाढी सुरु भएयता राजधानी जङ्जोमा कम्तीमा १२ जनाको मृत्यु भएको सरकारी निकायहरूले पुष्टि गरेका छन् ।
मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको छ ।
सामाजिक सञ्जालमा देखिएका भिडिओहरूमा पूरै सडक डुबानमा परेको र कारसहित अन्य भग्नावशेष तीव्र वेगको पानीमा सुस्त गतिमा बगिरहेको देख्न सकिन्छ ।
त्यहाँ हालैको आँधीका कारण क्षति भएको एउटा बाँध भत्किएला भन्ने डर छ। उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ र सेनाले बाँध ‘कुनै पनि बेला भत्किन सक्ने’ चेतावनी दिएको छ।
जङ्जोबाट प्राप्त भएको अपुष्ट भिडिओ फुटेजमा बाढीमा डुबेको सबवे अर्थात् भूमिगत रेलमार्गमा मानिसहरूको काँधसम्म पानी भरिएको देखिएको छ। मानिसहरू पानीको सतह भन्दा माथि रहनका लागि रेलको सिटमा उभिँदै गर्दा उद्धारकर्ताहरूले डोरीको प्रयोग गरी उनीहरूलाई तानिरहेको देख्न सकिन्छ ।





