राजकुमार पराजुली, धुलिखेल ।।
प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा जिल्लाको एकैगाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
त्यसैगरी, २०७६ माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो ।
रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।
दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । केन्द्रले चौँरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमुना परीक्षण गरेको छ । नमुना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।
केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । यसमध्ये तीन हजार कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताउनुभयो ।
यता, केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । वाग्मती प्रदेशस्थित पशुपक्षी तथा मत्स्यविकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिज विरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ ।
रेबिज जनावरको टोकाइका क्रममा ¥यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको सङ्क्रमण स्नायु प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेष गरी यो रोगबाट सङ्क्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताउनुभयो ।
स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा बर्सेनि २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रिय रूपमा जनचेतना जगाउन तथा सरोकारवालाबिच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक सेप्टेम्बर २८ को दिनलाई “अन्तर्राष्ट्रिय रेबिज दिवस” का रूपमा मनाउने गरिएको छ । विश्वमा आगामी सन् २०३० सम्ममा रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ । (रासस)