काठमाडौं । टुँडिखेललाई अतिक्रमणमुक्त गर्न हजारौंँ जनाको मानव साङ्लोले टुँडिखेल घेरिने भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर ‘अकुपाई टुँडिखेल’ ले शनिबार यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
‘स्वच्छ, खुला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियान’ भन्ने मूल नाराका साथ ‘अकुपाई टुँडिखेल’ ले बिहान ८ बजेदेखि अभियानको सुरुवात गर्दैछ ।
प्राकृतिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक र सामाजिक महत्व बोकेको टुँडिखेल अतिक्रमण हुँदै गइरहेको प्रति अभियानले विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
टुँडिखेल क्षेत्रमा बसपार्क, अनधिकृत पसल सञ्चालन, अनधिकृत पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने काम भएकाले सचेतनाका लागि ‘अकुपाई टुँडिखेल’ अभियान चलाउनु परेको अभियन्ताहरु बताउँछन् ।
अभियानका संयोजक विजय श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा रहेको टुँडिखेल हामी सबैका लागि एक महत्वपूर्ण क्षेत्र हो। यसको अतिक्रमणले महत्वपूर्ण सम्पत्ति गुमाउने अवस्था आएकाले हामीले अभियान चलाएका हौँ ।’
कुनै समय रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको चार किलोमिटर लामो र तीन सय मिटर चौडा टुँडिखेल अहिले भने २०५ मिटर लम्बाइ र १५५ मिटर चौडाइ (खुलामञ्चतर्फ) र ३०० मिटर लम्बाइ र २५० मिटर चौडाइ (सैनिकमञ्चतर्फ) मा खुम्चिएको छ ।
टुँडिखेल क्षेत्र लिच्छविकालमा प्रतिङ्गिरा देवी र बज्रभैरवले बज्रतुण्डी नामक देवीलाई दाइजो दिएको किम्बदन्ती छ । त्यतिबेला यसको नाम तुण्डी थियो । पछि टुँडिखेल रहन गयो । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय हासिल गरेपछि यो सैनिकहरुको परेड खेल्ने मैदान बन्यो । अहिले पनि टुँडिखेलको एक भाग सैनिककै कब्जामा छ ।