काठमाडौँ । कोरोना महामारीले गर्दा अत्यधिक मानिसमा इन्जाइटी, डिप्रेसनलगायतका मानसिक रोग बढ्दै गैरहेको मानसिक रोग विशेषज्ञ डा. सरोजप्रसाद ओझाले बताउनुभएको छ । मानसिक समस्याले निद्रा नलाग्ने, भोक नलाग्नेका साथै सुगर, ब्लडप्रेसर, अपाच्यजस्ता रोग बढ्दै गरहेको उहाँले बताउनुभयो ।
नेपाल क्यान्सर सर्भाइबर सोसाइटी र ब्लड क्यान्सर सोसाइटी नेपाल तथा विभिन्न सङ्घसंस्थाद्वारा सोमबार आयोजित “कोभिड, क्यान्सर र मानसिक स्वास्थ्य” विषयमा विज्ञसँगको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
सकारात्मक सोच, शारीरिक तथा मानसिक अभ्यासले धेरै हदसम्म कोरोनालाई पराजित गर्न सकिने वहाँको तर्क थियो ।
कार्यक्रममा धारणा राख्दै डा. राजु पङ्गेनीले कोरोना लागेको पहिलो हप्तामा भाइरसहरू अत्यधिक रूपमा बढ्दै जाने र दोस्रो हप्तामा ती भाइरससँग सङ्घर्ष गर्न हाम्रो शरीरभित्र केमिकल सक्रिय हुन थाल्ने बताउँदै उहाँले तर्क दिनुभयो– ‘यो प्रक्रियामा हाम्रो फोक्सो, कलेजो कमजोर हुँदै जान्छ ।’
त्यस्तै, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले अहिलेसम्मको कोरोना महामारीमा निकै थोरै मात्रामा नै क्यान्सरका बिरामी प्रभावित भएको बताउनुभयो । उहाँले क्यान्सर बिरामीहरू छिटै निको भएको हुँदा, यो रोगबाट आक्रान्त नहुन अनुरोध गर्नुभएको थियो ।
‘सर्भाइबरहरूले आफ्नो जीवनशैली परिवर्तन तथा स्वास्थ्यबारेमा सचेत भएकाले नै यसरी सफल हुन सकेको हो’ डा. अरुणको तर्क थियो ।
मनोपरामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व कपिल शर्माले भ्रमपूर्ण समाचारले मानसिक स्वास्थ्यको क्षेत्रमा नकारात्मक असर परेको बताउँदै दिनभरिका राम्रा समाचार सङ्कलन गर्दैै आफै सकारात्मक सोचाइ निर्माण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अत्यधिक मात्रामा क्यान्सर विजेतालगायत स्वास्थ्यसँग सरोकार राख्ने व्यक्तित्वको उपस्थित रहेको थियो । कार्यक्रममा उठेका विभिन्न जिज्ञासालाई डाक्टरहरूले आआफ्ना विषयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल क्यान्सर सरभाइबर सोसाइटीका अध्यक्ष प्रमिता खनाल र ब्लड क्यान्सर सोसाइटी नेपालको सचिव शोभाले गर्नुभएको थियो । कार्यक्रममा कवितासहित धन्यवाद मन्तव्य संस्थाकी कोषाध्यक्ष बिनु केसीले प्रस्तुत गर्नुभएको थियो ।