काठमाडौँ । गत २४ घण्टामा देशभरिका चार हजारभन्दा धेरै सङ्क्रमित कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका हुन् ।
मङ्गलबार सङ्क्रमणमुक्त भएकासँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् । नेपालमा यतिखेर सङ्क्रमण निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको पुगेको छ ।
यस्तै गत २४ घण्टामा दुई हजार सात सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार चार सय ४९ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ६ सय ८१ जनामा र पाँच हजार आठ सय ४१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा एक हजार ६४ जना गरी दुई हजार सात सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ४१ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ६ पुगेको छ ।