बझाङ । बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका चार जना मजदुरमध्ये तीनजनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको उद्धार टोलीले तीनजनाको शव निकालेको छ। थप एक जनाको खोजी हुँदै गरेको प्रहरीले जनाएको छ ।
बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत् को निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए ।
कामदार सुरुङमा फसेको खबर हाइड्रोले प्रहरीलाई आइतबार साँझ जानकारी दिएको थियो । जानकारी पाएलगत्तै उद्धार टोली खटिएपनि सफल हुन सकेको थिएन । राति नै उद्धारका लागि ५÷६ जना उद्धार टोलीका सदस्य सुरुङभित्र पसेकामा सुपर भाइजर र चालक समेत दुई जना बेहोस भएको प्रहरीले जनाएको छ ।
उक्त सुरुङ १४ सय मिटर लामो रहेको र अक्सिजन अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी सुरुङभित्रै फसेका थिए ।

