सप्तरी । मोरङबाट सप्तरी मामाघर आएकी एक बालिकालाई अपहरण प्रयास गरेका दुई भारतीय पक्राउ परेका छन् । मोरङको डाडर बैरीया गाउँपालिका–५ की आठ वर्षीया बालिका आँचल शर्मालाई सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजारबाट भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
हजुरबुवाको श्राद्धमा मामाघर आएकी बालिका मामाघरको आँगनमा खेल्दै गर्दा अपहरणकारीले जवर्जस्ती उठाएर बोरामा हालेका थिए । बालिकालाई साइकलमा राखेर भारततर्फ लैजान खोज्दा हजुरआमा साबित्री देबी शर्माले देखेर हो–हल्ला गरेकी थिइन् ।
प्रहरीले बालिका चोर भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं १८ बस्ने उमेश गोसाईको छोरा अंन्दाजी वर्ष २० को आनन्द कुमार गोसाई र सोही ग्राम–४ बैरियाघाट बस्ने नरेश झाको छोरा अन्दाजी वर्ष १८ को अनिल कुमार झालाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट साईकल १ थान र पलाष्टीको ३ वटा बोरा समेत बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।