काठमाडौं । काठमाडौंमा नक्कली नोट छाप्ने गिरोह सक्रिय भएको पाइएको छ । प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेपछि गिरोह सक्रिय भएको खुलेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उपर प्रहरीले अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश सिंहले जानकारी दिए। पक्राउ परेकाहरूबाट प्रहरीले रू १००० दरका ३४ थान नक्कली नोट बरामद गर्नाका साथै नोट छाप्न प्रयोग हुने फोटोकपी मेशिन एक थान, सिपियु एक थान, मनिटर एक थान, क्यामरा एक थान, कैँची चार थान, गम चार थान, ठूलो साइजको कागज १४२ थान र सानो साइजको कागज १४९ थान बरामद गरेको थियो।