काठमाडौँ । प्रगतिशील लेखक सङ्घले यही माघ १२ गते नागरिक समाजको आन्दोलनमा प्रहरीसितको मुठभेडमा केही जना घाइते भएकोप्रति दुःख प्रकट गरेको छ ।
प्रलेसका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षरमा २०७७ माघ १३ गते जारी प्रेसवक्तव्यमा दुःख प्रकट गरिएको हो ।
घाइतेहरूको सरकारद्वारा उपचारमा जोड दिँदै शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“प्रगतिशील लेखक सङ्घ, नेपाल वामशक्तिहरूको एकता र साझा तागतबाट नै सामाजिक रूपान्तरण एवम् मुलुकको अग्रगति सम्भव छ भन्ने कुरामा दृढ विश्वास व्यक्त गर्दछ । वाम शक्तिहरूबिच नै फाटो आउनु र परस्पर वैमनस्यपूर्ण व्यवहार देखा पर्नु कुनै पनि हालतमा उपयुक्त होइन भन्ने यो सङ्घ ठान्दछ । वर्तमान राजनैतिक समस्याको समाधान मुठभेट र दमन होइन भन्ने पनि यसको स्पष्ट दृष्टिकोण छ । अतः धैर्य र संयमका साथ वर्तमान समस्याको निकास निकाल्न सम्बन्धित सबैलाई प्रलेस हार्दिक आह्वान गर्दछ ।
यसै सन्दर्भमा हालै नागरिक समाज र प्रहरी मुठभेटमा परी नागरिक समाजको आन्दोलनमा संलग्न केही जना घाइते भएको दुःखद समाचार सार्वजनिक भएको छ । प्रलेस घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको उपचारका लागि सरकारसँग जोडदार माग गर्दछ र यस प्रकारका घटना नदोहोरिउन् भन्ने पनि आह्वान गर्दछ ।”

