दार्चुला । भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भारतमा असोज २९ गते हुने ग्राम पञ्चायत निर्वाचनका लागि आज साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्मका लागि पुल बन्द हुने भएको हो । भारतको विकास खण्ड धारचुलाअन्तर्गत असोज २९ गते ग्राम पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य एवम जिल्ला पञ्चायत सदस्यका लागि निर्वाचन हुँदैछ ।
उक्त निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दार्चुलासँग जोडिएका सबै नाका बन्द गर्नेसम्बन्धी भारतीय प्रशासनले पत्राचार गरेको थियो । भारतीय चुनावका कारण सदरमुकामसँग जोडिएको झोलुङ्गे पुल र तिगरम पुल बन्द हुनेछ ।
यसअघि असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीको झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवी र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएका थिए ।