काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आइतबार अपरान्ह स्वदेश प्रस्थान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरिन्।
त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च अधिकारीहरु विमानस्थलमा उपस्थित थिए ।त्यसक्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो ।
यसअघि शनिबार पनि सीको स्वागतका लागि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विमानस्थलमै पुगेका थिए ।
राष्ट्रपति सीको भ्रमणको दौडान नेपाल र चीनबीच १८ वटा समझदारीका दस्तावेज र दुइवटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर तथा आदानप्रदान भएका छन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार समझदारीपत्र आदानप्रदान भएको थियो ।
दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ । त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ ।
यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।
नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवर्द्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको बताइएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति सीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, सत्तारूढ दलका नेतालगायतसँग भेटवार्ता गरेका थिए ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको हो ।

