काठमाडौं । राष्ट्रिय जनमोर्चाले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार सिन्धुपाल्चोकमा भएको दुर्घटनामा १४ यात्रुको मृत्यु र थुप्रै घाइते भएको घटनालाई अत्यन्त पीडादायी घटना बताउँदै राजमोले सरकारकै निकायहरुका कमजोरीका कारण बारम्बार यस्ता दुर्घटना भइरहेको जनाएको छ ।
राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले शनिबार प्रेस वक्तव्य प्रकाशित गर्दै घटना पीडितलाई उचित क्षतिपुर्ति दिन र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग ममाग गर्नुभएको छ ।
वक्तव्यको पुर्णपाठः
“यही असोज २४ गते सिन्धुपाल्चोकबाट काठमाडौं आउने बस इन्द्रावती गाउँपालीकामा भिषण दुर्घटना भएको समाचारबाट राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ ।
अहिलेसम्म प्राप्त समाचार अनुसार त्यो दुर्घटनामा १४ जनाको मृत्यु भइसकेको छ भने एकसयभन्दा बढी मानिसहरु घाइते भएका छन् । दशैं मनाउन घर गएका मानिसहरुलाई ल्याएर काठमाडौं फर्कदै गरेको बसमा त्यस प्रकारको दुर्घटना भएको थियो ।
यो अत्यन्त गम्भीर, मार्मिक र पीडादायक दुर्घटना हो । हामीले उक्त दुर्घटनामा मृत्यु हुने सबै यात्रुहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौं । त्यसका साथै सबै घाइतेहरुप्रति समवेदना प्रकट गर्दै उनीहरुको उपचारको व्यवस्था मिलाउन सरकारसित माग गर्दछौं ।
उक्त बस दुर्घटनाले अहिले यातायात व्यवस्थामा भएको गम्भीर प्रकारको अनियमितता र अव्यवस्थालाई बताउदछ । थाहा भएअनुसार उक्त बसमा करिब ४० जना यात्रुहरु बोक्ने क्षमता थियो । तर त्यसमा मृतक र घाइते समेतको संख्या माथि विचार गर्दा त्यो बसमा त्यसको क्षमताभन्दा तीन गुणा बढी मानिसहरु भएको कुरा स्पष्ट हुन्छ ।
त्यती ठूलो संख्यामा यात्रुहरु बोकेर बस चलाउन किन अनुमति दिइयो ? ठाउँ-ठाउँमा प्रहरीद्वारा त्यसको चेक गर्ने काम किन गरिएन ? त्यो गम्भीर प्रश्न हो । त्यसका लागि स्थानीय प्रशासन, बसका मालिकहरु वा बस चालकहरुलाई मात्र दोष दिएर पुग्दैन ।
त्यस प्रकारका घटनाहरु देशमा लगातार भइरहेका छन् । त्यसकारण यातायातमा समुचित व्यवस्था मिलाउन नसकेकोमा मुख्य जिम्मेवारी केन्द्रीय सरकारले नै लिनुपर्छ र यसमा आवश्यक व्यवस्था मिलाउन पहलकदमी गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
यस सन्दर्भमा अर्को विचारणीय प्रश्न यो हो । मृतक र घाइतेहरुलाई क्षतिपूर्ति दिने व्यवस्था कहासम्म सन्तोषजनक छ र कानूनमा त्यसबारे गरिएको व्यवस्थालाई कहासम्म प्रभावशाली प्रकारले लागू गरिएको छ । त्यसबारे यातायातका उपभोक्ता, सरकार र आम जनता समेतको ध्यान जानुपर्ने आवश्यकताप्रति हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
हालै बेलायतमा एउटा नेपाली महिलाको विभत्स हत्या भएको घटना थाहा पाएर हामीलाई धेरै नै दुःख लागेको छ । उनका शरीरमा कैयौंपल्ट छुराले हानेर निर्मम र क्रुरतापूर्वक हत्या गरिएको छ ।
हामीले ब्रिटिश सरकारसित उक्त विषयमा छिटोभन्दा छिटो पहलकदमी गरी हत्यारालाई पक्रन र सजाय दिलाउन माग गर्दछौं । त्यसका साथै त्यसबारे आवश्यक कुटनीतिक पहलकदमी गर्न नेपाल सरकारसित पनि माग गर्दछौं ।”