काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिंग भारतको चेन्नईबाट काठमाडौं प्रस्थान गरेका छन्। दिउँसो २ बजे (नेपाली समय) राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका सिलसिलामा काठमाडौंका लागि प्रस्थान गरेका हुन्।
२३ वर्षको अन्तरालमा चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउने भएका हुन्। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउनलागेका हुन्। राष्ट्रपति सी शुक्रबार विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहित ९० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत आएका थिए।
चिनियाँ राष्ट्रपति सी विशेष विमानबाट आज अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्।
राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत गार्ड अफ अनर अर्पण गर्ने कार्यक्रम छ।
उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन्।
राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो।

