काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन् । राष्ट्रपति सी विशेष विमानबाट आज अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ ।
उनको स्वागतमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन् । विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता हुनेछ ।
यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार
अपराह्न ४स्३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६स्३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७स्३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना
आइतबार
बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२स्३० बजे स्वदेश फिर्ता
अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुने
राष्ट्रपति सी नेपाल आउने र स्वदेश फर्किने समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान तथा अवतरण अवरुद्ध हुने भएका छन् । सी विशेष विमानबाट शनिबार अपराह्न साढे ४ बजे त्रिभुवन विमानस्थल ओर्लिंने छन् भने आइतबार साढे १२ बजे स्वदेश फर्किंने छन् । सोही समयआसपास त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने छ ।
सीको सवारी हुँदा सडक किनारासमेत खाली गरिने
चिनियाँ राष्ट्रपति सीको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ । राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।
प्रधानमन्त्रीले गरे सीको सवारी हुने बाटोको निरीक्षण
राष्ट्रपति सीको सवारी हुने सडकको प्रधानमन्त्री केपी शर्मा ओली आफैंले स्थलगत निरीक्षण गरेका छन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।
नेपाली नेताहरुसँग एक्लाएक्लै भेटवार्ता तय
राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै भेटवार्ता तय भएको छ। राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच आइतबार बिहान साढे १० बजे होटल सोल्टीमा करिब ४५ मिनेट ‘वान अन वान’ भेटवार्ता तय भएको हो।
राष्ट्रपति सीसँग प्रचण्डको यो भेट संभवतः चौथो हो। सन् २०१३ मा राष्ट्रपति भएलगत्तै सीले तत्कालीन एकीकृत माओवादीका अध्यक्ष रहेका प्रचण्डलाई एक्लै बेइजिङ निम्त्याएर भेटवार्ता गरेका थिए। त्यसपछि सीसँग प्रचण्डको भेट दोस्रो पटक प्रधानमन्त्री भएपछि बेइजिङमा र ब्रिक्स–बिमस्टेक आउटरिचमा सहभागी हुने क्रममा भारतको गोवामा भएको थियो।
यस्तै, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सीले एक्लै भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । शनिबार साँझ सवा ७ बजे सीले देउवासँग भेट्ने तय भएको उनको सचिवालयले जनाएको छ।
सी–देउवा भेटवार्तापछि राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको सम्मानमा साढे ७ बजे सोल्टी होटलमै रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ। आइतबार बिहान अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेपछि सवा ११ बजेदेखि सीले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच दुई पक्षीय औपचारिक वार्ता हुनेछ।
सीको सुरक्षा गर्न चीनबाटै १५ हजार सुरक्षाकर्मी परिचालन
सीको सुरक्षामा १५–१६ हजार नेपाली सुरक्षाकर्मी परिचालन भएका छन् । चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणमा सरकारले अति विशिष्ट भन्दा माथिको सुरक्षा व्यवस्था गरेको छ। नेपालले भीभीआइपीलाई दिंदै आएको सुरक्षामा सीका लागि अहिलेसम्मकै उच्च र विशिष्ट सुरक्षा व्यवस्था अबलम्बन गरेको हो। तिब्बती शरणार्थीबाहेक मधेसी समुदाय र मानवअधिकार संघसंस्थाले समेत सीको भ्रमणका क्रममा विरोध प्रदर्शन गर्ने संकेत पाएपछि सरकारले झन् उच्च सुरक्षा व्यवस्था गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई वर्ष अघि भएको राजकीय भ्रमणमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। मोदीभन्दा सीमाथि सुरक्षा चुनौति बढी भएको निश्कर्ष सहित सरकारले सुरक्षाका सबै उपाय अबलम्बन गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
नेपाल प्रहरीका उच्च अधिकारीका अनुसार सीको सुरक्षाका लागि उपत्यका बाहिरबाट थप जनशक्ति ल्याइएको छ। नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोलीले सी भ्रमणको सुरक्षा खाका बनाएर सुरक्षामा खटिइसकेको छ।
सीको सुरक्षा भित्रिघेरामा चिनियाँ सुरक्षाकर्मीले ल्याएका उपकरण र बाहिरी घेरामा भने नेपाल प्रहरीले आफ्नै उपकरणमार्फत सुरक्षा निगरानी बढाउने सैनिक स्रोतले जनाएको छ। सीको नेपाल भ्रमणमा सरकारले आइतबार एक दिन सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ।
२३ वर्षको अन्तरालमा चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउने भएका हुन्। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।