काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंमा दुई दिन सवारी साधनको प्रयोग सकेसम्म नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणसँग आग्रह गरेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गरी महाशाखाले उपत्यकाको सवारी व्यवस्थापनमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको हो । राष्ट्रपति सीको भ्रमण हुने दुई दिन शनिबार र आइतबार सकेसम्म अनावश्यक सवारीको प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
महाशाखाले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगर्न, मुख्य सवारी मार्गको प्रयोग नगरी वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारी साधन प्रयोग नगरिदिन आग्रह गरेको छ ।
यस्तै, सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाईदिन पनि ट्राफिक प्रहरीको आग्रह छ । अनावश्यक हर्नको प्रयोग नगर्न तथा ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न साथै सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरिदिन पनि आग्रह गरिएको छ ।
ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफएम ९५.५ मेघाहर्ज सुन्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।