काठमाडौं । २३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रप्रमुखको सम्मानमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङ भोलि शनिबार नेपाल भ्रमणमा आउँदैछन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीको स्वागतमा आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।
सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।
भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।
भ्रमण तालिका यस्तो छ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी शनिबार साँझ करिब पाँच बजे भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने कार्यक्रम छ।
राष्ट्रपति सी शनिबार दिउँसो करिब ४ः३० देखि ५ः३० बजेसम्म त्रिभुवन विमास्थलमा उत्रनेछन् । साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी साँझ ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।
आइतबार बिहान १०ः३० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति सी १२ः३० बजे नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किनेछन् ।