काठमाडौं । नेपाल पत्रकार महासंघले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा एक घण्टा धर्ना दिएको छ । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारको पूनर्बहाली तथा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायत माग राखेर आन्दोलनरत महासंघले सोमबार एक घण्टा धर्ना दिएको हो ।
धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्कासन गरिएका पत्रकारको पूनर्बहाली गर्नुका साथै सम्पूर्ण सञ्चार माध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सांकेतिक रुपमा विरोध गरिएको बताए ।
उनले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन भए नभएको बारेमा महासंघले असोज १० गते देखि विभिन्न सञ्चारमाध्यममा गएर अनुगमन गरी सञ्चालकहरुलाई ऐनको कार्यान्वयनका लागि दवाव दिएको बताए ।
यसैगरी महासंघका उपाध्यक्ष दिलिप थापामगरले दश वर्षसम्म काम गरेका पत्रकारलाई निष्कासन गरी आफ्ना कार्यकर्ता भर्ती गरेका कारण महासंघ आन्दोलनमा उत्रिएको बताए ।
उनले निष्कासित पत्रकारलाई तत्काल पूनर्बहाली नगरिए महासंघ कडा आन्दोलनमा जान बाध्य हुने बताए । धर्नालाई विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए ।