काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र खेर जान नदिने बताउनुभएको छ । उहाँले पाठ्यभार घटाएर भएपनि शैक्षिक कार्यक्रम पुरा गर्ने बताउनुभयो ।
बुधबार भएको एक भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिकालाई नै मूल बाटो बनाएर अगाडि बढ्ने बताउनुभयो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने उहाँको भनाइ थियो ।
‘यो शैक्षिक सत्रलाई खेर जान नदिनेगरी काममा लागेको छु, पाठ्यक्रम विकास केन्द्र र विश्वविद्यालययलाई पाठ्याभार घटाउन लगाइसकेको छु’, विद्यार्थी नेताहरुसँग मन्त्री पोखरेलले भन्नुभयो, ‘शैक्षिक सत्र खेर जाँदैन, वैकल्पिक सिकाई निर्देशिकालाई मूल बनाएर अगाडि बढ्छौँ ।’
मन्त्री पोखरेलले वैकल्पिक सिकाइलाई अगाडि बढाउनका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच बनाएको पनि बताउनुभयो । मन्त्री पोखरेलले त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने ब्यवस्था मिलाइने जानकारी दिनुभयो ।

