काठमाडौँ, मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रियहित र सीमा अतिक्रमणका विषयमा उनले आवश्यक पहल गर्न नसकेको ठहर गरेको छ ।
पार्टीका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी प्रेस वक्तव्यमा कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतको अतिक्रमण तथा सन् १९५० को सन्धिसहितका विषयमा प्रधानमन्त्रीले भारतसँग कुनै चर्चा नगरेको भन्दै त्यसलाई भारतीय साम्राज्यवादप्रति आत्मसमर्पणवादी नीति भएको टिप्पणी गरिएको छ ।
वक्तव्यमा प्रधानमन्त्री शाहले नेपालको परम्परागत असंलग्न परराष्ट्र नीतिलाई कमजोर पार्दै भारतपरस्त नीति अपनाएको आशंका व्यक्त गरिएको छ । साथै, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा भारतलाई स्थायी सदस्यतासहित भिटो अधिकार दिने प्रस्तावमा समर्थन जनाउनु नेपालको राष्ट्रिय हितका दृष्टिले चिन्ताजनक भएको उल्लेख गरिएको छ ।
त्यसैगरी, नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन कार्यान्वयन, पोखराका लागि हवाई मार्ग उपलब्ध गराउने विषय र विगतमा भएका हवाई रुटसम्बन्धी सहमति कार्यान्वयन हुन नसकेकोप्रति पनि पार्टीले प्रश्न उठाएको छ ।
काठमाडौँ–भैरहवा–लखनउ हवाई रुट उपलब्ध गराउने सहमतिलाई सकारात्मक रूपमा लिँदै मसालले विगतका सहमतिजस्तै यो पनि कार्यान्वयनविहीन हुने हो कि भन्ने आशंका व्यक्त गरेको छ ।
भारतले नेपालको विकास तथा बाढीपीडितका लागि दिने सहयोगलाई सकारात्मक रूपमा लिनुपर्ने भए पनि त्यसका नाममा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग सम्झौता हुन नहुने पार्टीको निष्कर्ष छ ।
प्रस्तुत छ वक्तव्यको पूर्णपाठ :

