काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले प्रहरीमा जाहेरी दिएका छन्।
वलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत जाहेरी पठाएका हुन्। यसअघि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि उनले हुलाकमार्फत पठाएका हुन्।
जाहेरीमा बेनसहित प्रधानमन्त्रीको सचिवालयका कर्मचारीहरू र गृहमन्त्रीको सचिवालयका केही व्यक्तिमाथि प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट अनुसन्धानसँग सम्बन्धित डिजिटल प्रमाण मेटाएको तथा अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ।
फरेन्सिक ल्याबको रिपोर्टलाई आधार बनाउँदै मोबाइल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय हुँदै ललितपुरको कुपण्डोलस्थित बेनको घरसम्म पुर्याइएको दाबीसमेत जाहेरीमा गरिएको छ। यससम्बन्धी स्क्रिनसट, फोटो तथा भिडियो प्रमाणका रूपमा पेस गरिएको वलीले बताएका छन्।
मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ अनुसार प्रमाण नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न जाहेरीमा माग गरिएको छ।
यता, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले कानुनसम्मत नदेखिएका जाहेरी प्रहरीले दर्ता नगर्न सक्ने बताए। प्रहरीबाट दर्ता नभए सरकारी वकिल कार्यालयमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ।
