गोविन्दकुमार शर्मा । धुन्चे (रसुवा) । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका ६७ परिवारलाई २०८३ मंसिर ६ गते आइतबार तेस्रो चरणको नगद राहत वितरण गरिएको छ ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिको संयुक्त आयोजनामा बाढीपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गतका सानो भार्खु र ठूलो भार्खु तथा वडा नं. ६ अन्तर्गत धुन्चेका बाढीपीडित परिवारलाई नगद राहत प्रदान गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले दुःखद घडीमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र पीडित परिवारप्रति समवेदना व्यक्त गर्न आफूहरू आएको बताउनुभयो ।

“यो घटनापछि हामीले देशभित्र र भारतस्थित हाम्रो सङ्गठनमार्फत सहयोग सङ्कलनका लागि अनुरोध गर्यौँ,” उहाँले भन्नुभयो, “हामी कुनै एनजीओ वा आईएनजीओ होइनौँ, चित्रबहादुर केसीको नेतृत्वमा रहेको विशुद्ध राजनीतिक सङ्गठन हौँ । सङ्कलित रकम सिधै पीडितको हातमा पुगोस् भन्ने उद्देश्यले सरकारी कोषमा जम्मा नगरी आफैँ लिएर आएका छौँ ।”
बाढीबाट भएको ठूलो क्षतिको पूर्ति गर्न नसकिए पनि दुःखमा साथ दिन र पीडामा केही मलम लगाउन आफ्नो सङ्गठन सधैँ पीडितको पक्षमा रहने उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, राजमोका केन्द्रीय सल्लाहकार आनन्दराज शर्माले भारतको हिमाचलमा रहेका युवाहरूको पहलमा तथा नेपालका विभिन्न जिल्लाबाट सङ्कलित रकम पीडितसमक्ष पुर्याइएको जानकारी दिनुभयो । अन्य संस्थाबाट जिन्सी सामग्री आइरहेकाले पीडितले आफ्ना तत्कालका आवश्यकताअनुसार खर्च गर्न सकून् भनेर नगद नै वितरण गरिएको उहाँको भनाइ थियो ।

अर्कावक्ता अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाले नेपाल र भारतमा श्रम गर्ने मजदुर तथा पार्टीका शुभचिन्तकहरूबाट थोरै–थोरै रकम सङ्कलन गरेर तेस्रो चरणको राहत वितरण गर्न आएको बताउनुभयो । अन्य सङ्घसंस्थाले खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइरहेकाले स्थानीय साथीहरूसँगको समन्वयमा नगद राहत उपयुक्त ठानिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङसहित स्थानीय समाजसेवीहरूको उपस्थिति थियो ।
राहत वितरण टोलीमा राजमोकी उपाध्यक्ष दुर्गा पौडेल, केन्द्रीय सल्लाहकार आनन्दराज शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुन, राजमोकी केन्द्रीय सदस्य सुधा शर्मा, राजमो काठमाडौँका उपाध्यक्ष दिवाकर सुवेदी, मसाल काठमाडौँका पूर्वप्रवक्ता जगत रेग्मी र गोविन्द शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

यसअघि पनि राजमो र मूल प्रवाहले गोसाइँकुण्ड गाउँपालिका–६ का बोकेझुन्डा, ठाडे र सोले; कालिका गाउँपालिका–१ का ग्राङ, पलेप र राम्चे तथा वडा नं. २ को गुम्बाडाँडा; उत्तरगया गाउँपालिका–४ को ढुङ्गे; आमाछोदिङ्मो गाउँपालिका–२ को ग्रे; नौकुण्ड गाउँपालिका–६ को सस्र्युं र वडा नं. ५ को चिसी तथा काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित पहेँलो गुम्बानजिक रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडित परिवारलाई राहत वितरण गरेको थियो ।





