काठमाडौं, ७ नोभेम्बर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आफ्नो स्थापनाको ४७औँ वर्ष पूरा गरी ४८औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा समाजका अध्यक्ष प्रेम पौडेलले प्रेस वक्तव्य जारी गर्दै सङ्गठनले स्थापनाकालदेखि नै भारतस्थित नेपालीहरूको हकहित, सामाजिक सुरक्षा तथा नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा सङ्घर्ष गर्दै आएको बताएका छन्।
वक्तव्यमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि २०४६ र २०६२/०६३ का जनआन्दोलनसम्म सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। साथै, प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्व, राष्ट्रियता विरुद्धका सन्धि–सम्झौता, सीमा अतिक्रमण तथा एमसीसी सम्झौताविरुद्ध सङ्गठनले निरन्तर सङ्घर्ष गर्दै आएको जनाइएको छ।
भारतमा नेपालीहरूमाथि हुने विभेद, अन्याय, हिंसा, दुर्घटना तथा प्राकृतिक विपत्तिका घटनामा उद्धार र राहतका लागि पनि सङ्गठनले काम गर्दै आएको वक्तव्यमा उल्लेख छ। यी उपलब्धि केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता र न्यायप्रेमी जनसमुदायको सहयोगबाट सम्भव भएको भन्दै अध्यक्ष पौडेलले सबैप्रति आभार व्यक्त गरेका छन्।
वक्तव्यमा वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै गणतान्त्रिक अधिकारमाथि सङ्कुचन गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ। राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि सङ्गठनले आफ्नो ऐतिहासिक भूमिका निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
समाजले आगामी नवौँ अखिल भारत नेपाली एकता सम्मेलन “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, प्रवासी नेपालीहरूको मतदानको अधिकारका लागि सङ्घर्ष गरौँ” भन्ने मूल नाराका साथ आयोजना गर्ने जनाएको छ।
अन्त्यमा अध्यक्ष पौडेलले ४८औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई बधाई दिँदै आगामी दिनमा पनि राष्ट्रियता, गणतन्त्र, जनजीविका र प्रवासी नेपालीहरूको हकहितका पक्षमा सक्रिय भूमिका निर्वाह गर्न सबैसँग आह्वान गरेका छन्।






