भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा चुनाव जित्दैमा आफूहरू विशेष प्राणी बनिसकेको स्वीकार गरेका छन् ।
रास्वपा चितवनले २०८३ कात्तिक २० गते आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘हामी यही माटोका मान्छे हौँ । एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ’ उनले भने ।
उनले पार्टी सरकारको नेतृत्वमा पुगेपछि नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने आवश्यकतामा जोड दिए ।
पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न उनको निर्देशन थियो ।
पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार र गतिविधिलाई समाजले मूल्याङ्कन गर्ने उल्लेख गर्दै उनले आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको स्पष्ट पारे ।
समाजले देखाएको कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
‘ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन’ उनले भने ।
जनताले पार्टीलाई एक सय ८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई अहङ्कारको विषय बनाउन नहुने बताए ।
पार्टीभित्र माथिदेखि तलसम्म देखिएका कमजोरी सुधार्न निर्देशन दिँदै उनले बदला लिने भावनाले काम नगर्न पनि आग्रह गरे ।
‘हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन’ उनले भने– ‘हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन ।’
जनताले दिएको अभिमतलाई उनीहरूकै अपमान हुने गरी प्रयोग नगर्न चेतावनी दिँदै उनले पार्टी ठुलो भएको भन्दै प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत राज्यका निकाय आफूहरूको नियन्त्रणमा रहेको ठान्ने अहङ्कार त्याग्नुपर्ने बताए ।
पार्टीभित्र मतभेद र अन्तरसङ्घर्ष नरहेको दाबी गर्दै सभापति लामिछानेले सरकारले जनअपेक्षाअनुसार काम गरोस् भन्ने उद्देश्यले पार्टीले सुझाव दिने गरेको बताए ।
सरकारका कामकारबाहीमा सुधारका लागि सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने उनको भनाइ थियो ।
पार्टीले सरकारको काममा बाधा अवरोध नगर्ने स्पष्ट पार्दै उनले लोकतन्त्रका स्तम्भ कमजोर पार्ने गतिविधिमा सरकार संलग्न नहुने जिकिर गरे ।
सभापति लामिछानेले अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थाका विषयमा अनावश्यक टिप्पणी नगर्न पनि आग्रह गरे । सार्वजनिक संस्थालाई कमजोर बनाउँदा देश र लोकतन्त्र दुवै कमजोर हुने उनको भनाइ थियो ।
‘अदालत, प्रहरी, प्रेसलगायत भएभरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन’ उनले स्पष्ट पारे ।





