काठमाठौँ । नेपाल पत्रकार महासङ्घले छठपछि चरणबद्ध आन्दोलन गर्ने भएको छ । २०८३ कात्तिक २० गते बसेको उपलब्ध केन्द्रीय सदस्यको बैठकले सो निर्णय गरेको हो ।
महासचिव रामप्रसाद दाहालको हस्ताक्षरमा आजै जारी प्रेसविज्ञप्तिका अनुसार समाचारकक्षमै प्रवेश गरी प्रहरीको धरपकड गर्नु, सरोकारवाला पक्षसित छलफल नगरी प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी गर्नु, लोककल्याणकारी रकम कटौटी गर्नुलगायतका विषयमा आन्दोलन गरिनेछ ।
आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउनुका साथै सांसदहरूसँग अन्तरक्रिया गर्ने र यो आन्दोलनमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल (पापड) सक्रिय बनाइने बताइएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आज अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको उपलब्ध बैठकले गरेको निर्णय यस प्रकार रहेको छ :
१. समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार भएकाले घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।
२. प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल नगरी एकपक्षीय रूपमा आएकाले अध्यादेश फिर्ता लिन सरकारसँग र अध्यादेश जारी नगर्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गर्ने ।
३. गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्काशन, पारिश्रमिक नदिने तथा चाडबाड खर्चसमेत नदिने कार्य गम्भीर श्रम अधिकारको उल्लङ्घन भएको ठहर गरेको छ ।
४. लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम कटौतीका सन्दर्भमा छलफल हुँदा प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम गर्न सरकारसँग आग्रह गर्दछ ।
५. वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल (पापड) लाई सक्रिय गराई चरणबद्ध आन्दोलन गर्ने ।
६. यी सबै विषयमा संसद्मा प्रतिवाद गर्ने वातावरण सिर्जना गर्न सांसदहरूसँग बहस र पैरवी गर्ने ।
७. विद्यमान अवस्थाको बारेमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने ।
८. साथै महासङ्घका एजेन्डा पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने ।”





