काठमाडौँ । प्युठान जिल्ला, मल्लरानी गाउँपालिका वडा नं. ३ घर भई भारतको भिवानीमा नोकरी गरिरहनु भएका प्रकाश केसीको निधनप्रति नेकपा (मसाल) ले समवेदना व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ कात्तिक १९ गते शोकवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जलीसँगै शोकसन्तप्त परिवारप्रति समवेदना गर्नुभएको हो ।
मसालको पार्टीसदस्यसँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सक्रिय केसीको निधनबाट पार्टीको आन्दोलनमा क्षति पुगेको शोकमन्तव्यमा उल्लेख छ ।
यस्तो छ, शोकमन्तव्यको पूर्ण पाठ :
“प्युठान जिल्ला मल्लरानी गाउँपालिका–३ निवासी प्रकाश केसी (क. तुफान) को रोजगारीको सिलसिलामा भारतको पश्चिमोत्तर जिल्ला भिवानीमा लिफ्ट दुर्घटनामा परी २०८३ कात्तिक १७ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
कमरेड प्रकाश केसी हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ भारतस्थित नेपालीहरूको सामाजिक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएर सामाजिक सेवामा कार्यरत हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको इमानदार, कर्तव्यनिष्ठ र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”





