काठमाडौं, ३० असोज । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार ग्रहण गर्न मंगलबार काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।
भारतको विदेश मन्त्रालयले असोज अन्तिम साता दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। उनी यसअघि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरिसकेका छन्।
दलेलासँग नेपाल, भुटान, बंगलादेश, अमेरिका, इजरायललगायत विभिन्न मुलुकमा कूटनीतिक जिम्मेवारी सम्हालेको अनुभव छ। उनले भारतको प्रधानमन्त्री कार्यालय, वाणिज्य विभाग तथा विश्व व्यापार संगठनमा समेत काम गरेका छन्।
नेपाल–भारत सम्बन्धबारे समेत लामो अनुभव हासिल गरेका दलेलाको नियुक्तिलाई भारतले नेपालसँगको कूटनीतिक सम्बन्धलाई उच्च प्राथमिकता दिएको संकेतका रूपमा हेरिएको छ।





