धुलिखेल । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ ।
शनिवार बिहान लेदोमाटो बगेर स्थानीय शेरबहादुर तामाङको ढुङ्गामाटोले बनेको जस्ताको छानो भएको एकतले घर पुरिएको हो ।
घरको जस्ता मात्र देखिने गरी लेदो माटोले पुरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
सोही स्थानमा रहेका शेरबहादुरकै नजिकको अर्को तीनतले घर र स्थानीय हर्कबहादुर तामाङको तीनतले घरसमेत लेदोसहितको पानी पसेको छ । हर्कबहादुरको घरनजिक रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ ।
घटनामा मानवीय तथा चौपायाको क्षति नभएको र दुवै परिवारका आठ–आठ गरी १६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरी टोलीले दुवै परिवारलाई आफन्तको घरमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । (रासस)





