काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवम् सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन् ।
देवकोटा लुसुन प्रज्ञा–प्रतिष्ठान र एसएस फाउन्डेसनद्वारा २०८३ कात्तिक १४ गते आयोजित सांस्कृतिक कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डल सम्मानित भएका हुन् ।
प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउन्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गरेका हुन् ।
चीनको साहित्यिक एवम् सांस्कृतिक टोलीको नेतृत्व लुसुन कल्चरल फाउण्डेसनका अध्यक्ष एवम् विश्वप्रसिद्ध साहित्यकार लुसुनका नाति झाउ लिङफेईले गरेका छन् ।
संरक्षक उप्रेतीले चिनियाँ सांस्कृतिक एवम् साहित्यिक टोलीको नेपाल भ्रमणले यस क्षेत्रमा दुई देशबिच सहकार्य बढ्ने बताए ।
प्रतिष्ठानका उपाध्यक्ष पोखरेलले मित्रराष्ट्र चीनको सांस्कृतिक एवम् साहित्यिक टोलीको भ्रमणले एक अर्काको संस्कृति, साहित्यिक र सभ्यताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले नेपालको कला–संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।
१५ सदस्यीय चिनियाँ सांस्कृतिक एवम् साहित्यिक टोलीले पाटन दरबार स्क्वायरलगायत उपत्यकाका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका ठाउँको भ्रमणसमेत गरेको छ । टोलीलाई शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत गरेको थियो ।





