काठमाडौँ । पछिल्लो २४ घण्टामा मनाङमा सर्वाधिक वर्षा मापन भएको छ । आज बिहान ६:२४ बजेको विवरणअनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको हो ।
मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ । २०० मिलिमिटर भन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ ।
बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकाले देशभर वर्षा भइरहेको छ । अहिले अधिकांश स्थानमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि मापन भएको छ ।
शुक्रबार राति १० बजेको विवरण अनुसार तीन घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा मुगुको ताल्चामा ७६.९ मिलिमिटर वर्षा मापन भएको थियो ।
राति ११:१० बजेको विवरणअनुसार एक घण्टा अवधिमा सबैभन्दा धेरै सुर्खेतको रानीमत्ता केन्द्रमा ११.२ मिलिमिटर वर्षा मापन भएको थियो ।
विभागका अनुसार २४ घण्टाको बिचमा ५० मिलिमिटर भन्दा धेरै र १०० मिलिमिटर भन्दा कम पानी परेमा भारी वर्षा भएको मानिन्छ ।





