राजविराज । सप्तारीमा मृत्युु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत बन्दै गएको छ । मृत्युभोज मधेसको परम्परा र संस्कृति भएकाले घरमा कसैको मृत्यु भएपछि मान्छे गुमाएको पीडाभन्दा पनि भोजकै चिन्ता, भोज गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
घरमा कसैको मृत्युु भएपछि रीतिरिवाजअनुसार गर्नुपर्ने क्रियाकर्मको तयारीसँगै मृत्युभोजको तयारीमा घरमुली जुट्नुपर्ने बाध्यता छ । जात र समुदायअनुसार मृत्युु भएको १३ दिनको अवधिभित्र तीनदेखि पाँचपटक भोज गर्नुपर्ने बाध्यता अहिले पनि छ । कतिपयले नाम, सान र प्रतिस्पर्धामा ठुलोभन्दा ठुलो भोज गर्दै आएका छन् ।
भोज परम्परा संस्कृति र रीतिरिवाज मात्रै नभए हाम्रो संस्कार हो भन्ने बुझाइ अधिकांशमा छ ।
अन्नदान गर्नु पुण्यको काम हो । यसले आफन्त र परिवारलाई जोड्ने काम गर्छ तर ऋण लिएर बाध्यताले भोज गर्नु संस्कृतिको नाममा विकृति भएको पूर्वशिक्षामन्त्री रेण्ॉ यादवले बताइन् ।
उनले भनिने– ‘मृत्युुमा अनिवार्य भोज गर्नुपर्ने प्रथाको न्यूनीकरण मात्र नभएर अन्त्य गर्नुपर्ने आवश्यकता छ । समाजले जबरजस्त लादेको परम्परा भएकाले यस प्रथाको न्यूनीकरणका लागि हामी एकजुट भएर लाग्नुपर्ने आवश्यक छ ।’
भोज संस्कार र बाध्यताले नभएर स्वेच्छाले हुनुपर्ने जरुरी रहेको उनले बताइन् । मधेसमा बढी जनसङ्ख्या रहेको यादव समुदायले २५/५० गाउँको एकैपटक सभाभोज गर्ने चलन छ ।
मृत्युभोजको नाममा हुने आडम्बरी सभाभोजलाई प्रोत्साहन गर्नु दु:खद् रहेको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादवले बताए ।
उनले भने– ‘मृत्यु भोजलाई प्रोत्साहन गर्नुभन्दा दुरुत्साहन गर्नुपर्ने आवश्यकता छ ।’
एउटा भोजमा ५० हजारसम्मको स्वजाति आफन्तले भोज खाने गरेका पाइन्छ । भोजमा हुने खर्चले एक परिवारको १० वर्षभन्दा माथि जीवन चल्न सक्छ । भोजमा गरिने खर्च विपन्नको जीविकोपार्जन र शिक्षामा लगानी गर्न सके सकारात्मक सन्देशसँगै सक्षम र शिक्षित समाज निर्माणमा सहयोग पुग्ने उनले बताए ।
राजविराज नगरपालिका–१ कि दुर्गादेवी रजकले सासू बित्दा भोज गर्न सक्दिनँ भन्दा समाजले भोज गर्नैपर्छ भन्दै कर लगायो । त्यसपछि भोज गर्नका लागि तीन लाख ऋण लिनुपर्ने बाध्यता भयो । त्यो ऋणको ब्याज जसोतसो तिरे पनि ऋण अहिलेसम्म तिर्न सकेकी छैनन् ।
दुर्गा त ऋण लिएर भोज गर्ने प्रतिनिधि पात्र मात्र हुन मधेसका यस्ता सयौँ परिवारले मृत्युुभोज गर्नुपर्ने बाध्यताले अहिले ऋण लिएर भोज गर्ने र वर्षौंसम्म ऋणमा अल्झिने प्रवृत्ति अझै कायम रहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले बताए । (रासस)





