विराटनगर । कोशी प्रदेशको आर्थिक वृद्धिदरमा सामान्य सुधार देखिए पनि कृषि, उद्योग, रोजगारी र पर्यटन क्षेत्र कमजोर बनेका छन्। नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रदेशको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान छ, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा कम हो।
प्रतिवेदनअनुसार कृषि उत्पादन १.२ प्रतिशतले घटेको छ भने धान उत्पादनमा ४ प्रतिशतले गिरावट आएको छ। उद्योगहरूको औसत क्षमता उपयोगमा सामान्य सुधार भए पनि औद्योगिक श्रमिकको संख्या २.१ प्रतिशतले घटेको छ।
त्यस्तै, विदेशी पर्यटक आगमन २१.८ प्रतिशतले घट्दा होटलको औसत अकुपेन्सी दर ३२ प्रतिशतमा झरेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप १६.१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.२ प्रतिशतले मात्र वृद्धि भएको छ।
ऊर्जा क्षेत्रमा भने सातवटा नयाँ जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारणमा २०६.२ मेगावाट विद्युत् थपिएको छ। तर, विकास बजेट कार्यान्वयन र पूर्वाधार निर्माणमा अपेक्षित प्रगति हुन नसक्दा प्रदेशको आर्थिक विकासमा चुनौती कायम रहेको प्रतिवेदनले देखाएको छ।





