काठमाडौँ । नेकपा (मसाल) ले देविराम आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
२०८३ कात्तिक ५ गतेका दिन मोटरसाइकल दुर्घटनामा निधन भएका आचार्यप्रति शोकवक्तव्य व्यक्त गर्दै मसालले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा कात्तिक ७ गते जारी गरिएको वक्तव्यमा आचार्य मसालको पार्टीसदस्य रहेको जानकारी दिँदै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
इमानदार, कर्तव्यनिष्ठ र अनुशासित आचार्यको निधनबाट मसालको आन्दोलनमा क्षति पुगेको बताइएको वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–८ निवासी कामरेड देवीराम आचार्य (का. मसिने) को २०८३ कात्तिक ५ गते मोटरबाइक दुर्घटनामा परी मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
कामरेड देवीराम आचार्य हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ काठमाडौँ महानगरपालिका कमिटीमा कार्यरत हुनुहुन्थ्यो । उहाँले विभिन्न जनवर्गीय मोर्चामा पनि रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमानदार, कर्तव्यनिष्ठ र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”
कात्तिक ५ गते टीका लगाउन हिँडेका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ नुवाकोटका देविराम आचार्यसँगै उनका छोरा विवेक आचार्यको दुर्घटनामा मृत्यु भएको थियो ।
लु६४ प७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित भूमेकाथान नजिकैको जङ्गलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । मोटरसाइकलमा सवार दुवै जना मृत अवस्थामा फेला परेका हुन् ।
कात्तिक ४ गते टीकाको दिन दिउँसो करिब ३ बजे नुवाकोटबाट भूमिकास्थान–२ ढाकाबाङको अमलाचौरस्थित ससुराली घरतर्फ जाने क्रममा उनीहरू सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवस जिसीका अनुसार अमलाचौर जाने क्रममा भूमेकाथान नजिकै ओरालो पक्की सडकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठोक्किएको बताइएको छ ।
मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको अवस्थामा फेला परेको थियो भने मृतकका शव सडकबाट करिब ४० मिटर तल फेला परेका थिए ।





