टेकराज भुसाल, सन्धिखर्क ।
विद्यार्थीहरू बडादसैँ बिदामा छन् तर अर्घाखाँची भूमिकास्थान नगरपालिका–३ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयको कृषिखेतीबाट उत्पादित गोलभेँडा विक्री गर्न विद्यालयका प्राचार्य सुवासचन्द्र बन्जाडे भने आफैँ बजारमा खटिनुभएको छ ।
भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको ‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले उत्पादन गरेको गोलभेँडा विक्री गर्न सुरु गरिएको हो ।
२०८३ कात्तिक ७ गते शनिबार त्रयोदशीको अवसरमा मलाग्रीमा लागेको बडादसैँ मेलामा प्राचार्य बन्जाडे आफैँ गोलभेँडा विक्रीमा व्यस्त देखिनुभएको थियो ।
सामान्यतया विद्यालयमा विद्यार्थीले आफूले उत्पादन गरेका गोलभेँडा आफैँ विक्री गर्ने गरेका छन् तर अहिले बडादसैँ बिदा परेकाले विद्यार्थीहरू घरमा रहेका बेला उत्पादित गोलभेँडा बजारसम्म पुर्याउने र विक्री गर्ने जिम्मेवारी प्राचार्य बन्जाडेले सम्हाल्नुभएको छ ।
विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी पढाइसँगै व्यावहारिक सिप, श्रमको सम्मान र उद्यमशीलताको भावना विकास गराउने उद्देश्यले विद्यालयले गोलभेँडा खेती गर्दै आएको छ । यस कार्यक्रमले विद्यार्थीलाई उत्पादनदेखि बजारीकरणसम्मको अनुभव दिलाउन सहयोग पुर्याएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य बन्जाडेका अनुसार गत वर्ष गोलभेँडा खेतीबाट ६० हजार रुपैयाँ नाफा भएको थियो । उक्त रकम विद्यालयको उद्यम कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।
‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै उत्पादनमूलक काममा जोड्ने र भविष्यमा आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । विद्यालयमै सिकेको सिपलाई व्यवहारमा उतार्दै विद्यार्थीले उत्पादन गरेका कृषि उपज विक्रीसमेत गर्न थालेपछि शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउने प्रयासले सार्थकता पाउँदै गएको छ ।
प्राचार्य आफैँ मेलामा गोलभेँडा विक्री गर्न खटिनुले विद्यालयको उत्पादनलाई बजारसम्म पुर्याउने जिम्मेवारी शिक्षकले समेत लिने गरेको देखाएको छ । विद्यार्थीले उत्पादन गर्ने, आफैँ विक्री गर्ने र त्यसबाट आम्दानीको अनुभव लिने यो अभ्यासले उनीहरूमा श्रमप्रतिको सम्मानसँगै व्यावसायिक सोच विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसरी अन्नपूर्ण माध्यमिक विद्यालयले पढाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी कृषि उत्पादन र बजारीकरणसँग जोड्दै विद्यार्थीलाई व्यवहारिक ज्ञान तथा उद्यमशीलताको अनुभव प्रदान गर्ने प्रयास गरिरहेको छ ।





