सुर्खेत । जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रविन्दु बनाएर २०८० कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका परिवार यस वर्ष पनि अस्थायी टहरामै दशैं मनाउन बाध्य भएका छन्। भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि निजी आवास पुनर्निर्माणले गति लिन सकेको छैन।
जाजरकोटका विभिन्न स्थानीय तहमा लाभग्राही कायम गर्ने, अनुदान सम्झौता गर्ने र पहिलो किस्ता माग गर्ने प्रक्रिया अघि बढे पनि पुनर्निर्माणको काम सुस्त छ। भेरी नगरपालिकामा ३१८ लाभग्राही कायम भएकामा ५२ घरका लागि मात्र पहिलो किस्ता माग गरिएको छ। वडा नम्बर १ र २ का १८८ लाभग्राहीका लागि ५० हजार रुपैयाँका दरले ९४ लाख रुपैयाँ निकासा भएको छ। जुनीचाँदेमा १७८ जनासँग अनुदान सम्झौता भएको छ भने नलगाडका वडा नम्बर १ देखि ६ सम्मका ५०० भन्दा बढी प्रभावितको विवरण नगरपालिकामा पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोटमा ४० हजारभन्दा बढी लाभग्राही कायम भएका छन्। विस्तृत क्षति मूल्याङ्कन, लाभग्राही पहिचान र विवरण प्रमाणीकरणमा ढिलाइ हुँदा अनुदान वितरण तथा घर पुनर्निर्माण प्रभावित भएको छ।
आर्थिक अवस्था कमजोर भएका परिवार सरकारी अनुदान नपाउँदा घर बनाउन नसक्ने अवस्थामा छन्। भेरी नगरपालिकाका रावतगाउँ, कोल्चौर, मैदे, पिपे र रिम्ना तथा नलगाडका पाली, कल्पत र चिउरीगाउँका बासिन्दा अझै अस्थायी टहरामा बसिरहेका छन्।
प्रमुख जिल्ला अधिकारी नवराज बरालले पुनर्निर्माण प्रक्रिया छिटो अघि बढाउन सम्बन्धित निकायलाई पटकपटक ताकेता गरिएको बताए। स्थानीय तहबाट आवश्यक विवरण र कागजात प्राप्त भएपछि अनुदान निकासाको प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
नलगाड–१ का नरबहादुर विकले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका परिवारलाई दशैंको खुसीसँगै सुरक्षित आवासको चिन्ताले सताइरहेको बताए।





